FAQs Complain Problems

समाचार

चौरपाटीमा वडामै पुगेर भत्ता वितरण ,ज्येष्ठ नागरिक भन्छन् ,'आगनमै सरकार भएको महसुस भयो '

कालु बोहरा ( चौरपाटी अछाम )

चौरपाटी गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो । 

चौरपाटी गाउँपालिका - ७ मार्कुका ७९ वर्षिय चन्द्रदेव पुजाराले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताए । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि  सजिलो भएको पुजाराको भनाई रहेको छ । एक घण्टा वढी समय लगाएर गाउँपालिका केन्द्र बैंकमा पुगेर घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता वुझ्दा सास्ती हुँदै आएकोमा गाउँमै भत्ता पाउँदा सुविधा भएको उनले बताए ।

 

स्थानीय ७५ वर्षका उदय साउद पनि यस आर्थिक बर्षको सुरुमै भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएका छन्  । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान सास्ती हुँदै आएकोमा वडामा आएर गाउँपालिकाका कर्मचारी र बैंकले भत्ता उपलब्ध गराएकोमा धन्यवाद दिए । ‘भत्ताको लागि चौरपाटी र साँफेबगर जाँदा हामीलाई निकै असहज हुने गरेको थियो ।’ उनले भने ‘गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।’ गाउँपालिकाको केन्द्रसम्म भत्ता पुग्न समस्या हुने गरेका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई सदैव यसरी गाउँघरमै वितरण गरिनु पर्ने साउदको माग रहेको छ ।

 वडा नं.६ दूनीका ६८ झा वर्षिया झाक्रिदेवि आउजी पनि वडामै भत्ता पाएकोमा खुसी भएकी छ्न । बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उनले  अनुभव सुनाइन ।  ‘बैंकमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ । त्यसमाथि बैंकमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट हुन्थ्यो ' उनले भनिन् , 'स्थानीय सरकारले वडामै आएर सामाजिक सुरक्षा वितरणले धेरै सहज भएको छ ।'

प्रभु बैंकका शाखा प्रवन्धक अर्जुन कुमार वनले चौरपाटी गाउँपालिकाका विशेष समन्वय, वैंकका प्रदेश कार्यालयको निर्देशन, यातायातको उपलब्धता, सुरक्षा व्यवस्था गाउँपालिकाका पन्जिकरण शाखाका कर्मचारीको सहयोगमा वडामै पुगेर भत्ता वितरण सम्भव भएको बताए ।

  बैंकको स्थापनाकालदेखिको उद्देश्य नै ग्रामिण क्षेत्रका जनतालाई सेवा दिने भएकाले पनि भौगोलिक विकटतालाई प्रमुख प्राथमिकता दिएको उनले बताए  । बैंकमा आउँदा सेवाग्राहीले लाईन लाईन लाग्नु पर्ने, भीड व्यवस्थापन गर्न चुनौति हुँदै आएकोमा वडा कार्यालमै गएर सामाजिक सुरक्षा भत्ता वितरणले सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज भएको उनको भनाई छ । आवश्यक सुरक्षाको प्रवन्ध र ईन्टरनेटको सुविधा भएमा टोलमै गएर पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सकिने शाखा प्रमुख वनको भनाई रहेको छ । 

 

सामाजिक सुरक्षा भत्ता लिन भौगोलिक रुपमा टाढा हुँदा गाउँपालिकामा आवतजावत गर्न वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका उनको भनाइ  छ ।

  लाभग्राहीलाई भत्ता बुझ्नका लागि सवारीसाधन रिजर्भ गर्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन वडामै पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ । कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष साउदले बताए ।  ईन्टनेटको पहुँच भएमा आगामि दिनमा टोलटोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लक्ष्य रहेको समेत उनले बताए ।

चौरपाटी गाउँपालिकाभरी ४ हजार ९ सय ८२ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएको पन्जिकरण शाखा प्रमुख कालु सिंह बोहराले जानकारी दिए । जसमा जेष्ठ नागरिक १ हजार ६ सय ८, दलित जेष्ठ १८० जना, एकल नागरिक एकल महिला २ सय ३२ जना, विधुवा एकल साहेता पाउने ४ सय ३९ जना रहेको शाखा प्रमुख वोहराले जानकारी दिए । चौरपाटीमा वार्षिक रुपमा सामाजिक सुरक्षा भत्तामा १३ करोड २० लाख रुपैया वितरण हुँदै आएको छ । बैङ्कसँगको सहकार्यमा बैङ्कका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधिको रोहवरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय, एकल महिला लगायतका सबै लाभग्राहीलाई बैङ्किक प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउदै आएको पन्जिकरण शाखा प्रमुख बोहराले जानकारी दिए  ।

 

आर्थिक वर्ष: